इटहरीः उद्योगले तिर्न बाँकी रहेको बक्यौता लिएर मात्र घर फर्किने भन्दै काठमाडौँमा अन्दोलनरत उखु किसानलाई इटहरीमा विद्यार्थीहरुले समर्थन जनाएका छन् ।
इटहरीमा रहेको नमुना कलेजको बी.एस.डव्लू.का विद्यार्थीहरुले समर्थन जनाएका हुन् । इटहरीको मुख्य चौकमा शान्तिपूर्ण प्रदर्शन गर्दै किसानहरुको मागमा विद्यार्थीले ऐक्यबद्धता जनाएका हुन् । उनीहरुले नागरिकको भोक मेटाउने किसान रोइरहेको अवस्थामा आफूहरु चुप बस्न नसक्ने बताएका छन् । प्रदर्शनकारी मध्येकी एक मेघा ढकालले पुस्तकमा कुनै काम सानो वा ठूलो हुँदैन भनेर आफूले पढ्दै आएको तर अहिले भइरहेको परिस्थितिले यो गलत सावित गरेको भन्दै किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएको बताइन् ।
साथै उनले चाँडोभन्दा चाँडो ती किसानहरुको माग पूरा गर्न पनि अनुरोध गरिन् । अर्का प्रदर्शनकारी निराजन पाण्डेले सामाजिक कार्यका विद्यार्थीहरुले संँधै समाजमा भएका मुद्दाहरुमा आवाज उठाउँदै आएकोले यो पटक किसानको मागमा पनि समर्थन जनाएको बताए । उनले उखु किसानले श्रम गरेर आफ्नो पेट पाल्ने तर उद्योगले पैसा नतिर्दा श्रमको अवमूल्यन भएकोले शान्तिपूर्ण प्रदर्शनमा निस्किएको बताए । साथै उनले उखु किसानको माग पूरा नभए पुनः आन्दोलन गर्ने जानकारी दिए ।
सो प्रदर्शन नमूना कलेजको सामाजिक कार्य विषयका विद्यार्थीहरुले गरेका थिए । उनीहरुले ‘ जस्टिस फर फार्मर ’, जसको मेहनतले विहान बेलूकाको छाक टर्छ उसलाई नजरअन्दाज नगर सरकार’ लेखिएका पम्प्लेटसहित प्रदर्शन गरेका थिए ।