इटहरीः प्रदेश १ का तीन जिल्लालाई सडक मानव उद्दार अभियान सञ्चालन गरिने भएको छ ।
सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रमअन्र्तगत पुस ९, १० र ११ गते मोरङ, झापा र सुनसरीमा उद्दार अभियान सञ्चालन गरिने भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा उद्दार अभियान सञ्चालन गर्न लागिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । पुस ७ र ८ गते तीन जिल्लाका सडक बालबालिका र पुस ९ देखि ११गतेसम्म मानसिक रोगी, असहायहरुको उद्दार गरिने उनले बताए । यसरी उद्दार गरिएका बालबालिकालाई इटहरीमा रहेको भ्वाइस अफ चिल्ड्रेन आश्रममा राखिने छ । अशक्तलाई झापा भद्रपुरमा रहेको खगेन्द्र नवजीवन केन्द्रमा राखिनेछ । अन्यलाई भने मानव सेवा आश्रम विराटनगरमा राखिने मन्त्री घिमिरेले बताए ।
पूर्वपश्चिम राजमार्ग केन्द्रित कार्यक्रमअन्र्तगत पहिलो चरणमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी मानवहरुको उद्दार गरिने बताउँदै मन्त्री घिमिरेले प्रदेशका अन्य जिल्लामा पनि चाँडै अभियान सञ्चालन गरिने बताए । अभियानअन्र्तगत उद्दार गरिसकेपछि तीन जिल्लाका स्थानीय तहहरुले सडक मानवमुक्त घोषणा गर्ने घिमिरेले बताए । १४ वटै जिल्लाका स्थानीय तहले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सडक घोषणा गरेपछि प्रदेशलाई आगामी वैशाख मसान्तभित्रमा घोषणा गरिने मन्त्री घिमिरेले बताए । उनले प्रदेश १ मा अब मागेर हिँड्न नपाइने बताए । पुस ८ गतेसम्म झापा, मोरङ र सुनसरीका सबै स्थानीय तहहरुले सहयोगापेक्षी मानवहरुको खोजी तथा सूचना सङ्कलन गरी सामाजिक विकास मन्त्रालयलाई जानकारी गराउनुपर्ने मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए ।
मानव सेवा आश्रमले पुस ७ देखि माघ ७ गतेसम्म राष्ट्रिय उद्दार कार्यक्रम (मेची महाकाली) सञ्चालन गर्दैछ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम छ । मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीका अनुसार मानव सेवा आश्रम विराटनगरले उद्दार गरिएका १५० जनालाई राख्न सक्नेछन् ।