इटहरीः मोरङको विराटनगर महानगरपालिका १४ झटियाहीमा गएराति भएको आगलागीमा परी एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
राति करिब साढे १२ बजे विराटनगर महानगरपालिका– १४ झटीयाहीका राजेशकुमार दास तत्माको घरमा भएको आगलागीमा परी उनका १४ वर्षीय छोरा रविन दास तत्माकोे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले बताए ।
उनका अनुसार उनकी श्रीमती ३२ वर्षीया इन्द्रदेवी र अर्का ७ वर्षीय छोरा किसनकुमार दास तत्मा घाइते भएका छन् । जाडोबाट बच्न आगो ताप्ने क्रममा भएको आगलागीबाट चार लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ । घटनाका घाइतेहरुको कोसी अस्पताल विराटनगरमा उपचार जारी रहेको छ ।