काठमाडौः बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ ।
उक्त कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ९, गौशाला बस्ने तत्कालीन बैंकका शाखा प्रबन्धक स्मृति राना, कास्की, पोखरा घर भई चन्द्रागिरि बस्ने शाखा प्रबन्धक पिङ्कु पालिखे र मोरङको विराटनगर घर भई ललितपुर बस्ने शाखा प्रबन्धक अनिशसिंह सिँजापति रहेको ब्युरोले जनाएको छ ।
उनीहरुले ऋणीसँगको मिलेमतोमा कम तौलका सुनका गरगहना बढी तौलको देखाई अत्यधिक मूल्यांकन गरी बढी ऋण लिएको र हालसम्म सावाँ(ब्याज नतिरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । उनीहरुले बैंकलाई सात करोड ४२ लाख ६१ हजार रुपैयाँ नोक्सानी पुर्याएको जनाइएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर मुद्दाको अनुसन्धानका सिलसिलामा ऋणीलाई गत मंसिर २६ गते पक्राउ गरिएको थियो । पक्राउ पर्ने ऋणीमा खोटाङका पूर्ण राई, देवानन्द राई र धनकुटाका सन्दीप लिम्बू रहेको प्रहरीले जनाएको छ । -रासस