इटहरीः पछिल्लो समय जननिर्वाचित जनप्रतिनिधिहरुले देशको विकास गर्न नसकेको र धर्मको नाममा देशमा विकृति फैलिरहेको भन्दै राजावादीहरुले देशव्यापी रुपमा अन्दोलन गरिरहँदा सुनसरीको इटहरीका एक युवाले राजाको श्रीपेच नै तयार गर्ने काममा लागेका छन् ।
इटहरीमा निलकण्ठ ज्वलर्स सञ्चालन गर्दै आएका कर्णबहादुर सेन्चुरीले एक लाख मूल्य बराबारको श्रीपेच बनाउन सुरु गरेका हुन् । उनले आफू राजाको श्रीपेच खोसिएकै दिनबाट आफ्नै हातबाट बनाएको श्रीपेच दिन इच्छुक रहेकाले अहिले त्यो रहर पूरा गर्न लागेको जानकारी दिए । ‘यो रहर चाहिँ मेरो धेरै पहिलाबाट थियो । जुन दिन राजाको श्रीपेच खोसियो, त्यही दिनदेखि आफैँले बनाएर राजाको हातमा दिने सोख थियो । तर, विविध कारणले अहिलेसम्म त्यो काम गर्न सकेको थिइनँ । अहिले साथीहरुले हौसला प्रदान गर्नुभयो र पुनः मेरो सपनालाई पूरा गर्न लागेको छु’, उनले भने ।
तामामा चाँदीको लेपन लगाएर श्रीपेच तयार गरिने छ । साथै सो श्रीपेचमा विभिन्न बहुमूल्य धातुको पनि प्रयोग गरिने सेन्चुरीले जानकारी दिए । उनले एक वर्ष अगाडि नै राजालाई यो श्रीपेच दिने सोच बनाएको तर कोरोनाका कारण सम्भव नभएको जानकारी दिए । ‘मैले अलि अगाडि नै श्रीपेच राजालाई दिने सोच बनाएको थिएँ । तर कोरोनाका कारण लकडाउन भयो । यसलाई आवश्यक धातु तथा अन्य सामान ल्याउन पाइनँ । अहिले सामान आउँदै छ । श्रीपेचको काम धमाधम भइरहेको छ’, उनले भने । साथै उनले केही दिनमा राजा इटहरी आउने कार्यक्रम रहेकाले त्यही बेला श्रीपेच दिनेगरी काम गरिरहको जानकारी दिए ।