इटहरीः विश्वभर महामारीका रुपमा फैलिएको कोरोना महामारीलाई प्राथमिकता दिइरहँदा मौसमी रोगका विषयमा खासै चर्चा हुँदैन । अहिले नेपालमा चिसो मौसम सुरु भइसक्यो । यो बेलामा सामान्य रुघाखोकी, ज्वोरो, झाडापखला तथा अन्य मौसमी रोग देखा पर्दछन् । तर, कोरोनाका कारण यी रोगको विषयमा खासै चार्चा भएको पाइँदैन । इटहरीका अधिकांश अस्पतालहरुमा यतिबेला लाग्ने बिरामीको लाममा धेरैजसो जाडोका कारण लाग्ने रोगका बिरामीहरु हुन्छन् । इटहरी अस्पतालका चिकित्सक रामकुमार धमलाका अनुसार यो समयमा स्वासप्रस्वासका बिरामीहरु धेरै देखिन्छन् । उनले योसँगै चिसोबाट लाग्ने रोगहरु निमोनिया र रुघाखोकीका बिरामी पनि आउने गरेको जानकारी दिए ।
उनले यो अवस्थामा विशेषगरी बालबालिका, वृद्धवृद्धा र अशक्तहरुको स्वास्थ्यमा ख्याल गर्नुपर्ने जानकारी दिए । ‘अहिले चिसोको मौसम सुरु भएकाले चिसोका बिरामीहरु देखा पर्न थालेका छन् । विशेषगरी अहिले श्वासप्रश्वासका विरामीहरु देखा पर्ने गरेका छन् । यो समयमा बालबालिका, वृद्धवृद्धा र अशक्तहरुले ध्यान दिनु जरुरी छ’, उनले भने । इटहरीका सरकारी, समुदायिक तथा निजी अस्पतालहरुमा बिरामीको चाप बढिरहेको छ । दीर्घरोगीसँगै यो समयमा अस्पतालहरुमा मौसमी रोगका बिरामीहरुको चाप बढिरहेको मेडिकल तथा अस्पताल सञ्चालकहरु बताउँछन् । इटहरीमा रहेको एपेक्स अस्पतालका चिकित्सक महेशजंग कार्कीले गत वर्षको तुलनामा मौसमी रोगका बिरामीहरु कम मात्रामा आउने गरेको जानकारी दिए । उनले दैनिक १५ देखि २० जना मौसमी रोगका बिरामी अस्पतालमा आउने गरेको बताए ।
मौसमी रोगबाट बच्नका लागि पहिला हामी चिसोबाट बच्न जरुरी छ । न्यानो कपडा लगाउने, दाउरा तथा गुँइठा बालेर आगो ताप्ने र हिटरको प्रयोग गर्ने गरेर हामी चिसोबाट बच्छौँ । तर, न्यून आय भएकाहरुलाई यो समयमा धेरै गाह्रो हुने गरेको छ । सञ्चारमाध्यहरुमा हामी चिसोकै कारण गम्भीर बिरामी परेको र चिसोले नै मृत्यु भएको समाचार सुन्दै आएका छौँ । इटहरी उपमहानगरले गत वर्षझैँ यसपटक पनि विपन्न तथा कम आयस्तर भएका परिवारलाई कम्बल वितरण गर्ने भएको नगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । साथै उनले उपमहानगर भित्रका विभिन्न मुख्य चौकहरुमा आगो ताप्ने व्यवस्था पनि मिलाइएको जानकारी बताइन् ।
‘हामीले गत वर्षहरुमा इटहरीका विभिन्न चौकहरुमा आगो ताप्ने व्यवस्था मिलाएको थियौँ । यो वर्ष पनि हामीले ती चौकहरुमा आगो ताप्ने व्यवस्था मिलाएका छौँ। यसका अलावा हामी इटहरीका विपन्न तथा गरिब परिवारलाई कम्बल पनि वितरण गर्ने तयारीमा छौँ । हामीले कम्बल खरिदका लागि मंसिरमा नै सूचना निकालेका थियौँ । गत वर्ष ढिला हुँदा कम्बल चिसो सकिएपछि मात्र वितरण भएको थियो तर यो वर्ष छिटै नै कम्बल वितरण गर्दैछौँ’, उनले भनिन् । उनले पहिलोपटक उपमहानगरले एक हजार थान कम्बल खरिद गरी वितरण गर्ने तयारीमा रहेको जानकारी दिइन् ।