इटहरीः जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले सवारी नियम पालनामा कडाइ गरेसँगै राजश्व असुलीमा वृद्धि भएको छ ।

सवारी नियम उल्लङ्घनमा संलग्न सवारीचालक तथा सवारीधनीहरुबाट जरिवानाबापत यस आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिभर तीन लाख आठ हजार पाँच सय रुपैयाँ संकलन गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक सागर दाहालले बताए ।

उनका अनुसार सो रकम चार सय ८३ वटा सवारीलाई गरिएको कारबाहीबाट असुल भएको हो । दोस्रो त्रैैमासिक अवधिभर १२ वटा ट्रक, ५० वटा ट्याक्टर, तीन सय तीन वटा मोटरसाइकल र १४ वटा अटोका चालकहरुलाई कारबाही गर्दै कार्यालयले सो रकम बराबरको जरिवाना असुल गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । मंसिर महिनामा सर्वाधिक एक लाख सात हजार पाँच सय रुपैयाँ असुल भएको दाहालले बताए ।