इटहरीः नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कार्यका कारण संघीय संसद विघटन भएपछि उनकै गृहजिल्ला झापामा उनको राजीनामा मागिएको छ ।

जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा झापाको बिर्तामोडमा आज आयोजित विरोध प्रदर्शनका सहभागीहरुले ओलीको कदमलाई अलोकतान्त्रिक र असंवैधानिक बताउँदै उनको राजीनामा माग गरेका हुन् । पार्टी भित्रको आन्तरिक द्वन्द्वका कारण प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक संकटमा पारेको उनीहरुको आरोप छ ।

प्रधानमन्त्री ओलीको अकर्मण्यताका कारण जनादेशप्राप्त संसदको असामयिक अवसान भएको बताउँदै जसपाले स्वेच्छारी तवरबाट प्रधानमन्त्री ओलीले गरेको निर्णयले प्रजातान्त्रिक आन्दोलनको उपलब्धि गुम्ने खतरा उत्पन्न भएको दाबीसमेत गरेको छ । यस कदमबाट विधिको शासन र संसदीय परम्पराको मर्यादामा आघात पुगेको सो पार्टीको धारणा रहेको छ ।