इटहरीः सुनसरीको कोसी गाउँपालिका–४ श्रीपुरको कोसी कटानमा सञ्चालनमा रहेको कुखुरा फार्ममा आज दिउँसो आगलागी हुँदा फार्म र त्यहाँ पालिएका कुखुरा जलेर नष्ट भएका छन् ।
फार्ममा भएको आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको फार्मका सञ्चालक विनोद यादवले बताए । उनका अनुसार आगलागीबाट कुखुरा तथा भौतिक संरचना जलेर नष्ट हुनुका साथै फार्ममा कार्यरत कामदारसमेत सामान्य घाइते भएका छन् ।
कोसी गाउँपालिकाको कार्यालयबाट आएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारण भने प्रष्ट हुन सकेको छैन ।