इटहरीः मोरङको विराटनगरमा आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
असंवैधानिक तवरबाट संघीय संसद विघटन गरेको विरोधमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेकपा कार्यकर्ताले विराटनगरको जलजला चौकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको सो समूहनिकट विद्यार्थी नेता जिसस न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पुत्ला दहन गर्नुअघि संसारीमाइस्थान र घोघापुल चौकमा मसाल जुलुससमेत प्रदर्शन गरिएको थियो । भोलि शुक्रबार पनि प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा प्रदर्शन जारी नै रहने नेता न्यौपानेको भनाइ छ ।