इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ५ कलङ्की मोडबाट प्रहरीले मीनी ट्रकमा राखी भारतबाट अवैध रुपमा सुर्तिजन्य पदार्थको पैठारीमा संलग्न चार जनालाई सुर्तिसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा को १ ख ६८९० नम्बरको ट्रकका चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ९ घर भएका २३ वर्षीय सैयद आलम, सोही गाडीमा सामान लिई आएका सुनसरीको कोसी गाउँपालिका ५ घर भएका ३३ वर्षीय महबुब आलम, सो ट्रकलाई पिछा गर्दै आएका सोही ठाउँका ३४ वर्षीय सम्पतलाल कामत र सोही ठाउँका ३६ वर्षीय कैसर आलम रहेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए ।
उनका अनुसार उनका अनुसार सम्पत र कामतले बा ३१ प २९४३ नम्बरको मोटरसाइकलमा ट्रकलाई पिछा गरेका थिए । पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले घटनामा प्रयोग भएका ट्रक र मोटरसाइकलका साथै एक हजार आठ सय प्याकेट तयारी खैनीसमेत बरामद गरी आवश्यक कारबाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोसी बराज सुनसरी पठाइएको प्रहरीले जनाएको छ । बरामद भएको सुर्तिको बजार मूल्य पाँच लाख १६ हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।