इटहरीः पूर्वी नेपालको प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण आगलागी भएको छ ।
स्थानीय कमल विष्टका अनुसार फावाखोलाको सिम्बु सामुदायिक वनमा तीन दिन अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गभ्रे सल्ला प्रजातिका रुखहरु रहेको जङ्गलमा आगो लागेको र वन क्षेत्रमा पानीको चरम अभाव रहेकाले आगलागी नियन्त्रणबाहिर पुगेको हो । आगलागीसँगै हावाको गतिमा तिव्रता आएकाले आगोको फैलावट व्यापक हुन पुगेको बताउँदै बिष्टले तत्काल नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसके आगलागी पाथीभरा मन्दिरसम्म नै फैलनसक्ने खतरा रहेको बताए । आगलागी भएको जानकारी पाएलगत्तै सदरमुकाम फुङलिङबाट आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी तिनैवटा सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
लोपोन्मुख रेडपाण्डाको बासस्थान रहेको वनमा आगलागी भएपछि रेडपाण्डाको अस्तित्वसमेत संकटमा परेको छ । यता, आगलागीकै कारण खानेपानीको आपूर्तिका लागि बिछ्याइएका पाइप जलेपछि ठूलो फेदी क्षेत्रमा खानेपानीको समेत संकट उत्पन्न भएको छ ।