इटहरीः मोरङको रङ्गेली नगरपालिका ८ दर्बेसाबाट आज दुई जना भारतीय नागरिक नक्कली भारतीय नोटसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० वर्षीय कुन्दन मण्डल र १८ वर्षीय शविरन्जन सिंह रहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरुका साथबाट दुई सय दरका १७ थान र एक सय दरका एक सय ४३ थान गरी जम्मा १७ हजार सात सय रुपैयाँ बराबरको भारतीय नोट बरामद गरेको छ ।

अभियुक्तहरुले प्रयोग गरेको बी.आर.३८ एन.०२५१ नम्बरको मोटरसाइकल र एक थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । प्रहरीले सवारी चेकजाँचका क्रममा उनीहरुमाथि शंका लागी जाँच गर्दा नक्कली नोट फेला परेपछि नियन्त्रणमा लिएको हो । दुवै अभियुक्तहरुलाई हिरासतमा राखी आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।