इटहरीः झापा मोरङ र सुनसरीबाट दुई सय ५३ जना असाहयको उद्धार गरिएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालय, स्थानीय तह र मानव सेवा आश्रमको सहकार्यमा दुई सय ५३ जनाको उद्धार गरिएको हो । मानव सेवा आश्रमले पुस ७ गतेदेखि शुरु भएको मेची–महाकाली अभियान अन्तरगत झापाबाट ७६, सुनसरीबाट एक सय ११ र मोरङबाट ६६ जनाको उद्धार गरेको हो । उद्धार गरिएका मध्ये १९ जना बालबालिका र १ जना अपाङ्गता भएका व्यक्ति छन् । उद्धार गरिएका ९ जना बालबालिकालाई काठमाडौँ पठाइएको छ । अन्यलाई इटहरीमा राखिएको छ ।
झापा, मोरङ र सुनसरीमा सहयोगापेक्षी सडकआश्रित मानवहरु नदेखिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । प्रदेश सरकारले आगामी बैशाख भित्रमा सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिसकिने बताए । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले मानव सेवा आश्रमको अभियानका कारण सडक आश्रितहरुको व्यवस्थापनमा सहज भएको बताए । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेचीबाट शुरु भएको अभियान महाकालीमा माघ ७ गते सम्पन्न हुने बताए । आगामी २०८२ भित्रमा नेपाललाई सडक आश्रित मानव रहित राष्ट्र निर्माण गरिने जानकारी दिए ।