इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित शिविर डाँडामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङकै रतुवामाई नगरपालिका–१० का ५२ वर्षीय सन्तबहादुर आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) लोकदर्शन थापाले बताए । उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मे ११ प ३४३५ नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको को २ त ५५८१ नम्बरको ट्याक्टरसँग पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक आलेमगर गम्भीर घाइते भएकोमा उपचारार्थ मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो ।
उपचारका क्रममा चालक आलेमगरको राति ९ः५५ बजे ज्यान गएको प्रवक्ता थापाले बताए । दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार रतुवामाई ५ का ४४ वर्षीय शुक्ल मुर्मुको पथरी अस्पतालमा उपचार जारी रहेको उनको भनाइ छ । दुर्घटना गराउने ट्याक्टरसहित चालक कानेपोखरी गाउँपालिका–५ का २२ वर्षीय राम तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण मोटरसाइकल चालकको लापरबाही रहेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।