इटहरीः मोरङको जहदा गाउँपालिका १ भुटाहाबाट २० किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भएका ३१ वर्षीय गणेश राई रहेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तिर्थ पौडेलले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) जहदाबाट खटिएको टोलीले को २ ह ४२४१ नम्बरको टेम्पोमा चेकजाँच गर्ने क्रममा गाँजा फेला परेपछि चालक राईलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त राईलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको उपरीक्षक पौडेलले बताए ।
अभियुक्त राईले सवारी चालनको बहानामा भारततर्फ गाँजा तस्करी गर्ने गरेको पाइएको बताउँदै उपरीक्षक पौडेलले उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीको प्रकृया अगाडि बढाइने जानकारी दिए ।