इटहरीः सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको मकुना हात्तीले गएराति थप एक जनामाथि आक्रमण गरी ज्यान लिएको छ ।
मकुनाको आक्रमणबाट ज्यान गुमाउनेमा कोसी गाउँपालिका–५ बस्ने १९ वर्षीय मोती कामत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए । हात्तीले कामतको ज्यान लिएपछि आक्रोशित स्थानीयले नाराबाजी गर्दै राजमार्ग अवरुद्ध पारेकोमा स्थानीय प्रशासनले १० बुँदे सहमति गरी सडक अवरोध खुलाएको थापाको भनाइ छ । विज्ञको टोली बोलाई हात्तीको विध्वंश नियन्त्रण गर्ने वा सो सम्भव नभए यसअघि मंसिर ३० गते आरक्ष प्रशासन र स्थानीयबीच भएको सहमति अनुसार हात्ती मार्न स्थानीय प्रशासन सहमत भएपछि मृतकका आफन्तले शव बुझेका छन् ।
घटनालगत्तै वार्तामा बसेका स्थानीय र प्रहरीबीच मङ्सिर २९ गते मृत्यु भएका प्रमोद यादव र सोमबार राति मृत्यु भएका मोतीलाल कामतको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, आरक्षमा घेराबेरा लगाउने, विज्ञ टोलीको प्रतिवेदन स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउने, जङ्गली जनवार निगरानीका लागि रात्रिकालीन गस्ती बढाउने, आरक्षभित्रै विज्ञको दरबन्दी सिर्जना गर्ने र जङ्गली हात्ती नियन्त्रणका लागि सोलार तारबारमा विद्युत सुचारु गर्ने सहमति भएको उपरीक्षक थापाले जानकारी दिए ।