इटहरीः १९ जनाको ज्यान लिइसकेको मकुना हात्तकिो आतंकलाई निराकरण गर्न सङ्घीय सरकार बाधक बनेको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले आरोप लगाएका छन् ।

दुई हप्ताको अन्तरालमा दुई जना पुरुषको मकुनाको आक्रमणबाट मृत्यु भइसकेको छ । सोमबार राति मकुनाको आक्रमणबाट कोसी गाउँपालिका ५ घर भएका मोतीलाल कामतको मृत्यु भएपछि पीडित परिवार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिका बीचको सर्वपक्षीय बैठकमा अन्सारीले सो कुरा बताएका हुन् । आफू तथा गाउँपालिकाले मकुनाको आतंक जतिसक्दो चाँडो निराकरण होस् भन्ने चाहेको तर सङेघीय सरकारले बाधा पुर्याएको अन्सारीले बताए । ‘हामी त आजको भोलि नै व्यवस्थापन होस् भन्ने चाहिरहेका छौँ । तर, यसमा बाधकको रुपमा सङ्घीय सरकार रहेको छ । स्थानीय सरकार हौँ हामी । न हामीसँग झण्डा छ न डण्डा नै छ । कोसी टप्पुको राजस्व पनि सङ्घीय सरकारले नै उठाइरहेको छ । त्यसैले यसको निराकरण पनि सङ्घीय सरकारले नै गर्नुपर्छ । यसको लागि हामीले दबाब दिइरहेका छौँ’, उनले भने ।

IMG_20201229_142507_360

हात्तीपीडित जनताको माग जायज भएको र यसमा आफ्नो पनि समर्थन रहेको अन्सारीको भनाइ छ । ‘यी जनताहरुको माग जायज छ । यसमा हाम्रो पनि समर्थन छ । मेरो जनता मरिरहेको छ । यसमा स्थानीय सरकार पनि आन्दोलनमा छ’, उनले भने । उनका अनुसार हात्तीको मष्तिस्क बिग्रिएको छ । हात्ती ठिक भए नभएको जाँच गर्ने विज्ञ भत्ता पचाउन मात्र आएको अन्सारीको आरोप छ । ‘म भन्छ,ु यो हात्तीको मष्तिस्क बिग्रिएको छ, किनभने एउटै हात्तीले पटक पटक मान्छे मार्दैन । यहाँ विज्ञ आउँछन् तर राम्रा सँग ट्रिटमेन्ट (उपचार) नै गर्दैनन् । पटक पटक ट्रिटमेन्ट गर्दा टि.ए.डि.ए खान पाइन्छ भनेर विज्ञले हामीलाई झुक्याइरहेका छन्’, उनले भने ।

मानिसलाई भन्दा जनवारलाई महत्व दिएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘मानिसभन्दा हात्ती कदापि महत्वपूर्ण हुँदैन । एउटा मन्छेको महत्व हात्तीको भन्दा बढी हुन्छ । त्यसैले म यो हात्ती मारिनुपर्छ भन्ने पक्षमा छु’, उनले भने । सोमबार राति करिब ८ बजे हात्तीले २० वर्षीय पुरुषलाई मारेपछि स्थानीयले मंगलबार बिहान कोसी राजमार्ग अवरुद्ध पारेका थिए । उनीहरुले न्याय नपाएको भन्दै मृतक मोती लाल कामतको शव नै सडकमा राखेर तीन घण्टा सडक बन्द गरेका थिए ।