झापाको कमल गाउँपालिका–५ नयाँबस्तीकी सावित्रा धिमाललाई राज्यले घरविहीन बनाएको १० महिना भयो । सशस्त्र प्रहरी तालिम केन्द्र लखनपुरको जग्गामा बसेको भन्दै सशस्त्र प्रहरीले गत फागुनमा घर भत्काइदिएको थियो । तत्कालीन माओवादीको दशवर्षे सशस्त्र संघर्षका वेला आफ्नो सुरक्षामा ढाल बन्ने ठानेर सशस्त्र प्रहरी आफैँले त्यहाँ सुकुम्बासी राखेको थियो । त्यहीवेला धिमाल त्यहाँ आएकी थिइन्, तर १० महिनाअघि जग्गा अतिक्रमण गरेर बनाएको भन्दै उनले दिनरात दुःख गरेर बनाएको घर सशस्त्र प्रहरीले भत्कायो । अन्त कहीँ जाने ठाउँ छैन । उनी त्यहीँ त्रिपाल टाँगेर बसिन् । राज्यले सुरक्षाकर्मी प्रयोग गरी घर भत्काएर टहरामा पु¥यायो । गत सोमबार मध्यराति आएको हात्तीको बथानले त्रिपालको त्यही टहरा पनि भत्काएर खुला आकाशमुनि पु¥याइदिएको छ ।
सावित्रा तीन महिनाकी सुत्केरी हुन् । त्रिपालको टहरामुनि पुसको सिरेटो र शीतलहरमा नसुती रात काट्दै आएकी उनलाई हात्तीले खुला आकाशमुनि पु¥यायो । ‘अन्त कहीँ केही नभएपछि हामी यही टहरामा बस्दै आएका थियौँ । अर्काले दिएको त्रिपाल ओढाएर बनाएको टहरा पनि हात्तीले भत्काइदियो,’ उनी भन्छिन्, ‘नानी जन्मिएको तीन महिना भयो । यस्तो जाडो मौसममा शीत तपतप झर्छ । नानीलाई जोगाउन रातभर नसुती बस्थ्यौँ । अब त आकाशमुनि वास हुने भयो ।’
हात्तीले घर मात्र भत्काइदिएन, दुःख गरेर हातमुख जोड्न ल्याएको १० किलो चामल, नुन, दाल खाइदियो । नखाएको पनि छरपस्ट पारेर कामै नलाग्ने बनाइदियो । गत मंगलबार मध्याह्नसम्म उनीहरूले केही खान पाएका थिएनन् । ‘पैँचो गर्न जाउँ भने सबैको हालत उस्तै छ,’ उनले भनिन्, ‘तिमीहरू अतिक्रमण गरेर आएका हौ भनेर कोही पनि हेर्न आउँदैनन् । वडाध्यक्ष त जस्तै आपत् पर्दा पनि आउँदैनन् ।’
कमल–५ नयाँबस्तीस्थित सशस्त्र प्रहरीको जग्गामा बस्ने सुकुम्बासीलाई अहिले दिनहुँ हात्तीले दुःख दिइरहेको छ । १० महिनाअघि सशस्त्रले घर भत्काएर उनीहरूको सबै सामान पनि उसैले लग्यो । अन्त कहीँ केही नभएपछि अहिले ३४ घरपरिवार त्यहीँ बाँसको भाटाको टेको लगाएर टहरा बनाई बसेका छन् । ‘हामीलाई १७ वर्षअघि सशस्त्रले नै यहाँ ठेक्का तिरेर गरिखानु, तिमीहरूलाई पनि हुन्छ । हामीलाई पनि सुरक्षा हुन्छ भनेर यहाँ ल्याए,’ वृद्धा पवित्रा बेघा भन्छिन्, ‘अहिले यो हालतमा पु¥याए । हात्ती आएर रातभर सुत्न सकिँदैन । भएको बिजुली पनि सशस्त्रले काटिदियो । अन्धकार रातमा भाग्न पनि गाह्रो छ ।’
रातभरको त्रिपालबाट शीत चुहिएर सुत्नै मुस्किल परेका सुकुम्बासीलाई हात्तीले सधैँ आपत्मा पार्ने गरेको छ । सोमबार राति आएका तीन हात्तीले टहरा मात्र भत्काइदिएनन्, एकछाक टार्नका लागि राखेको अन्न पनि खाइदियो । ‘घरमा दुईजना स–साना नानी छन् । ७५ वर्ष कट्नुभएका बुबा–आमा हुनुहुन्छ । त्रिपालबाट शीत चुहिएर रातभर सुत्न सकिँदैन,’ चन्द्रप्रसाद चम्लागाईं भन्छन्, ‘हाम्रो अन्त कतै भएको भए यस्तो हालतमा किन बस्थ्यौँ ? राज्यले बुझ्नुपर्दैन ? हाम्रा लागि राज्य कहाँ छ ?’
सशस्त्र छ, सुरक्षा छैन
सशस्त्र प्रहरी ब्यारेकछेउमै छन्, नयाँ बस्तीका सुकुम्बासी परिवार । उनीहरू रातभर चिच्याउँदा पनि सुरक्षाका लागि आएनन् सुरक्षाकर्मी । बरू नयाँबस्तीछेउबाटै अर्को गाउँमा सुरक्षा दिन गए । ‘रातभर टुकुरेमा गएर सशस्त्र बस्यो । हामी रातभरि चिच्यायौँ, यहाँ आएन । हात्तीले अस्ति एकजनाको ज्यान नै लियो, तर सशस्त्र प्रहरी कानमा तेल हालेर बस्छ,’ स्थानीय चन्द्रबहादुर लिम्बू भन्छन्, ‘बिहानै सशस्त्र कुद्दै आउँछन् । मंगलबार आएका सशस्त्रले त केहीदिनमा छाड्नुपर्छ भनेर धम्की पनि दिएका छन् ।’
नयाँ बस्तीबाहेक कमल–५ का अन्य बस्तीमा पनि हात्तीले क्षति पु¥यायो । त्यहाँ कमल–५ का वडाध्यक्ष डम्बर निरौला आफैँ निरीक्षणमा पुगे । उनले त्यहाँ निरीक्षण गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट गरेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सहयोग मागेर वडाध्यक्ष हात्ती खेदाउन साइरनसहित मध्यराति टुकुरे, गुह्येश्वरीलगायत टोलमा आफैँ गए । त्यहाँ साइरन बजाउँदा नयाँ बस्तीमा हात्तीले झन् क्षति ग¥यो । अरू बस्तीमा आफैँ निरीक्षणमा पुग्ने वडाध्यक्ष नयाँबस्तीमा कहिल्यै पुग्दैनन् । महामारीमा सुकुम्बासीले खान नपाउँदा पनि कमलका नागरिक नभएको भन्दै वडाध्यक्षले राहतसमेत दिएनन् ।
‘मेरो श्रीमान् रोहित रेग्मी यो ठाउँको सुकुम्बासीकै अगुवा हुनुहुन्थ्यो । उहाँलाई हात्तीले मा¥यो । रातभर गुहार माग्दा पनि कोही आएन,’ स्थानीय निर्मला रेग्मी भन्छिन्, ‘हाम्रो ठाउँमा हात्ती आयो भनेर जानकारी गराउँदा वडाध्यक्षले मान्छेले खेदाउनुपर्ने हात्तीले खेदाएछ ठिकै भयो भन्नुहुन्छ ।’
कमल गाउँपालिका प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र हो । प्रधानमन्त्रीले कोही पनि नागरिक चिसोले मर्नु नपर्ने उद्घोष गर्दै आएका छन् । तर, उनकै निर्वाचन क्षेत्रमा सुकुम्बासीलाई राज्यले नै त्रिपालमुनि पु¥याएको छ । यस्तो दर्दनाक दृश्य हेर्न वडाध्यक्ष निरौला भने कहिल्यै पुग्दैनन्, नयाँबस्ती । ‘नयाँबस्तीमा सामान्य त्रिपाल पल्टाइदियो रे १ म अरूतिर गएँ, त्यता गइनँ,’ वडाध्यक्ष निरौलाले नयाँ पत्रिकासँग भने, ‘त्यहाँ कसैले पनि धान–चामल राख्दैनन् । उनीहरूले अरूतिरै राखेका छन् । त्यसकारण त्यहाँ क्षति भएको छैन ।’ नयाँबस्तीका सुकुम्बासीको त्यहाँ घर नभई टहरा भएकाले राहत नदिने बताए । ‘राहत दिनलाई घर भत्कनुपर्ने प्रावधान छ,’ उनी भन्छन्, ‘उनीहरूको घरै छैन के राहत दिनु ?’
सुनसरीमा हात्तीले लियो सुकुम्बासीको ज्यान, राहत माग्दा धनीपुर्जा खोजियो
२३ साउन ०७७ राति आएको हात्तीले नयाँबस्तीको टहरासँगै सुकुम्बासी अगुवा रोहित रेग्मीको ज्यान लिएको थियो । उनको परिवारलाई डिभिजन वन कार्यालय झापाको पहलमा कोसी टप्पु वन्यजन्तु आरक्षले किरिया खर्चबापत ५० हजार रुपैयाँ दिएको थियो । पीडित परिवारले अरू क्षतिपूर्ति पाएन ।
राहत माग्न जाँदा जग्गाधनी प्रमाण पुुर्जा खोजेको श्रीमती निर्मलाले बताइन् । ‘हामी सुकुम्बासीको जग्गाधनी पुर्जा कहाँबाट ल्याउनु ? पाउने क्षतिपूर्ति पनि दिएनन्,’ उनले भनिन्, ‘आजकाल त राति हात्ती आयो भने गाउँलेलाई निधारमा धनीपुर्जा लिएर बस है भन्न थालेको छु ।’
वन क्षेत्रबाहिर हात्तीले मान्छे मारेमा १० लाख पाउने सरकारी नियम छ । तर, प्रहरीले मुचुल्कामा रेग्मीको बसोवास भएको क्षेत्रलाई वन क्षेत्र लेखिदियो । ‘यो वन क्षेत्र हो भने सशस्त्रले आफ्नो जग्गा किन दाबी गर्नु ?’ उनी भन्छिन्, ‘प्रहरीले नै वन क्षेत्र भनेर मुचुल्का लेख्यो । अब हाम्रो घर भत्काएबापत क्षतिपूर्ति दिन्छ सरकारले ?’
कोसी टप्पुवरपर चार वर्षमा ५२ को ज्यान गयो
सुनसरीको कोसी गाउँपालिकामा गत सोमबार मध्यरातमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गयो । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले कोसी गाउँपालिका–५ का मोतीलाल कामतको ज्यान लिएको हो । मध्यरातदेखि बेपत्ता उनको शव मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।
कामतको मृत्युपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् । यसअघि गत २९ मंसिरमा अर्का स्थानीयवासी प्रमोद यादवको पनि हात्तीले ज्यान लिएको थियो । हात्तीको आक्रमणले लगातार मानवीय क्षति हुन थालेपछि स्थानीयवासी आन्दोलित भएका हुन् ।
हात्तीपीडित स्थानीयवासीले मंगलबार पूर्व–पश्चिम राजमार्गको कोसी कटान क्षेत्रमा सडक नै अवरुद्ध गरेर प्रदर्शन गरे । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी कमल थापा, गाउँपालिका अध्यक्ष अयुव अन्सारीलगायतको पहलमा सडक अवरोध खुलेको थियो । त्यसपछि स्थानीय बासिन्दा मृतकको शव लिएर आरक्ष कार्यालय पुगे । त्यहाँ दुवै पक्षबीच वार्ता भयो । ज्यान लिने हात्ती नियन्त्रणका लागि प्राविधिक टोली मगाइएकाले उनीहरू आएपछि थप छलफल गरी निकासमा पुग्ने सहमति भएको छ । त्यसपछि पीडितले शव पोस्टमार्टमका लागि लैजान दिएको गाउँपालिका अध्यक्ष अन्सारीले जानकारी दिए ।
‘हात्तीले पहिलेदेखि यहाँका बासिन्दालाई दुःख दिँदै आएको छ । विज्ञ टोली आएपछि बुधबार थप छलफल गर्ने गरी पीडित पक्षको आन्दोलन रोकिएको छ,’ अध्यक्ष अन्सारीले भने । मकुना नामको हात्ती अराजक भई गाउँ पसेर जनधनको क्षति गरेपछि आरक्ष प्रशासनले चितवन राष्ट्रिय निकुञ्जबाट यसअघि पनि प्राविधिक टोली मगाएर अध्ययन थालेको थियो । उक्त टोलीले मकुना हात्ती हर्मोनका कारण यस्तो अराजक भएको निष्कर्ष निकालेको थियो । टोलीको सुझाबअनुसार मकुना हात्तीलाई हर्मोन कम गर्ने सुई दिइएको थियो । तर, मकुना हात्तीले पुनः मानवीय क्षति गर्न थालेको छ ।
चार वर्षमा ५२ को ज्यान गयो
कोसी टप्पुको मध्यवर्ती क्षेत्रमा पर्ने कोसी गाउँपालिका अधिकांश गाउँ जंगली जनावरको आक्रमणको चपेटामा परेको छ । उनीहरू आरक्षणबाट आएका जंगली जनावरले कतिखेर ज्यान लिने हो भन्ने त्रासमा हुन्छन् ।
सुनसरी, सप्तरी र उदयपुर गरी तीन जिल्लाको एक सय ७५ वर्गकिमिमा आरक्ष फैलिएको छ । आर्थिक वर्ष ०७५÷७६ देखि हालसम्म जंगली हात्तीको आक्रमणबाट सुनसरी र सप्तरीमा आठजनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको तथ्यांक छ । ०७३ यता तीन जिल्लामा आरक्षबाट निस्केका जंगली जनावरको आक्रमणबाट ५२ जनाको ज्यान गएको जंगली जनावरपीडित संघर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले बताए ।
२२ जनाको त मकुना हात्तीको आक्रमणले मात्र ज्यान गएको उनले जानकारी दिए । उनका अनुसार कोसी गाउँपालिकाको वडा नंं ३, ५, ६, ७, ८ जंगली जनावरबाट पीडित छन् । उदयपुरको बेलका नगरपालिका, सप्तरीको सप्तकोसी नगरपालिका, कञ्चनरूप नगरपालिका, हनुमाननगर–कंकालिनी नगरपालिका, सुनसरीको बराहक्षेत्र नगरपालिकाका केही वडा मध्यवर्ती क्षेत्रमा पर्छन् ।
ती क्षेत्रका बासिन्दा वर्षौँदेखि हात्तीलगायत जंगली जनावरबाट पीडित छन् । मण्डलका अनुसार कोसी गाउँपालिकामा मात्र डेढ वर्षमा एक सय ५० जनाभन्दा बढी घाइते भएका छन् । करोडौँको बालीनालीमा क्षति पुगेको छ ।
आरक्ष प्रशासनको लापरबाही
हात्ती आक्रमण रोक्न आरक्ष प्रशासनले कुनै ठोस कदम नचाल्दा स्थानीयवासी समस्यामा परेको कोसी गाउँपालिका अध्यक्ष अन्सारी बताउँछन् । ‘पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि सर्वसाधारणलाई आतंकित बनाउने क्रम रोक्न आरक्ष प्रशासनले कुनै ठोस पहल गरेको छैन । यहाँका कर्मचारी तलब पचाउन मात्र बसेजस्तो भएको छ । त्यही भएर स्थानीयवासी आन्दोलित भएका छन्,’ अध्यक्ष अन्सारीले भने ।
बस्तीमा पसेर दिनहुँजसो सर्वसाधारणलाई आतंकित बनाउने हात्ती कहाँ छ भनेर थाहा पाउन हात्तीको घाँटीमा १५ मंसिर ०७४ मै रेडियोकलर जडान गरिएको थियो । रेडियोकलरको सहायतामा रिसिभरले हात्ती कहाँ छ भन्ने जानकारी पनि दिन्छ । तर, हात्ती बस्तीमा पसेको जानकारी हुँदासमेत आरक्षले बेवास्ता गरिरहेको मण्डलको आरोप छ । नयाँ पत्रिकाबाट