इटहरीः सप्तरीको राजविराजस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् चोरीका ४२ जना अभियुक्तहरुलाई कारबाही गरेको छ ।
प्राधिकरणले उनीहरुका साथबाट प्रहरीको सहयोगमा एक सय ४० थान घरायसी विद्युतीय उपकरण बरामद गर्नुका साथै तीन लाख दुई हजार पाँच सय ४९ रुपैयाँ जरिवाना असुल गरेको वितरण केन्द्रका प्रमुख आमोद यादवले बताए । उनका अनुसार लकडाउनयता हालसम्म विद्युत् चोरीमा संलग्न रहेका अभियुक्तहरुबाट न्युनतम तीन हजार रुपैयाँदेखि विद्युत्को खपतका आधारमा थप जरिवाना असुल गरिएको केन्द्रका इन्जिनियर बिमलप्रसाद साहले बताए ।
उनका अनुसार केन्द्रले आफू मातहतका ग्राहकहरुबाट विद्युत् महसुलबापत ५० लाख रुपैयाँभन्दा बढी बक्यौता असुल गरेको छ भने बक्यौता भुक्तान नगर्ने एक सय ४० ग्राहकको लाइन काटेको छ । सोमध्ये एक सय २७ जनाले जरिवानाबापत ५७ लाख २४ हजार आठ सय ५३ रुपैयाँ केन्द्रमा बुझाएको अभिलेख रहेको छ । राजविराज वितरण केन्द्रले ५१ हजार नौ सय ८७ घरमा विद्युत् आपूर्ति गर्दै आएको छ ।