इटहरीः मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवाबाट प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई अवैध लागूऔषधसहित हिजो साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ वर्षीय सुरेन्द्र बस्नेत र १९ वर्षीय अनिष अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) लोकदर्शन थापाले बताए । उनका अनुसार पक्राउ परेका अभियुक्तहरुबाट एभिल, लुपिजेसिक र डाइजेल्याब गरेर तीन एम्पुल तथा एक सय पाँच ट्याब्लेट नाइट्राभेट बरामद भएको छ ।

भारतबाट अवैध रुपमा लागूऔषध भित्र्याउने क्रममा सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको संयुक्त गस्ति टोलीले उनीहरुलाई गिरफ्तार गरेको प्रवक्ता थापाको भनाइ छ । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत मोरङबाट लागूऔषध मुद्दामा म्याद थप गराई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।