इटहरीः गत जेठ ५ गते गम्भीर घाइते भई जेठकै १२ गते बि.एम.सि अस्पतालमा मृत्यु भएका नेपाली सेनाका हवल्दार मेजर पर्शुराम भट्टराईको परिवारले न्याय नपाएको भन्दै पुन धर्ना दिएको छ ।

सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भएका उनको हत्या भएको र त्यसमा नेपाली सेनाको संलग्नता रहेको परिवारले आरोप लगाउँदै आएको छ । तर, प्रहरीले भने मदक पदार्थ सेवन गरेर लडेको र उपचारको क्रममा मृत्यु भएको भन्दै आएको छ । उनको मृत्यु भएको बारेमा निष्पक्ष छानबिन नभएको भन्दै परिवारले बिहीबार सुनसरीको इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयअगाडि धर्ना दिएका हो ।

उनकी श्रीमती कमला बोगटीले आफूलाई झुटो आश्वासन दिएर श्रीमानको शव बुझ्न लगाएको जानकारी दिइन् । धनकुटामा रहेको नेपाली सेनाको २ नम्बर बाहिनीमा कार्यतर तत्कालिन जर्नेल यम प्रसाद ढकालले आफूले हत्यार जसरी भए पनि पत्ता लागउने भन्दै झुटो आश्वासन दिएको र अहिले त्यो कुरा पूरा नगरेको बोगटीको भनाइ छ । जर्नेल ढकालले हत्या भएको केही समयपछि आफू काठमाडौँ गएको र अहिले आफूले त्यो ठाउँ छोडेर आएको भन्दै घटनाबारे केही गर्न नसक्ने बताउँदै आएका बोगटीले जानकारी दिइन् ।

साथै धनकुटा प्रहरीको बेवास्ताका कारण घटनामा संलग्नलाई कारबाही गर्न नसकिएको बोगटीको आरोप छ । उनले आफूले जाहेरी दिन जाँदा पनि प्रहरीले जाहेरी लिन नमानेको जानकारी दिइन् । यसरी जाहेरी लिन नमानेपछि आफूले हुलाकमार्फत् जाहेरी दिएको र जाहेरी लिएर जाने हुलाकीलाई नै अहिले प्रहरीले धम्क्याउने गरेको बोगटीले बताइन् । साथै उनले हत्यारा पत्ता लगाएर कारबाही नगरेसम्म न्यायको लागि लडिरहने जानकारी दिइन् ।