इटहरीः मोरङको विराटनगर महानगरपालिका १७ स्थित भारतीय सीमावर्ति क्षेत्र मटेरुवाबाट अवैध भारतीय मुद्रासहित एक जना भारतीय नागरिक हिजो साँझ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत अररिया जिल्ला घर भएका २५ वर्षीय सुजित कुमार रहेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले बताए । उनका अनुसार पक्राउ परेका अभियुक्तका साथबाट प्रहरीले भारत सरकारले प्रचलनमा प्रतिबन्ध लगाएको पाँच सय दरका एक सय चार ओटा भारतीय नोट अर्थात् ५२ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । अभियुक्त सुजितलाई आवश्यक कारबाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाइने प्रहरी निरीक्षक थापाले बताए ।

उनका अनुसार अभियुक्तले आफू नयाँ वर्षको अवसरमा भ्रमणका लागि नेपाल आएको बयान दिएका छन् । तर, उनी हुन्डी कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । कोरोना भाइरसको महामारीका कारण नेपाल भारत सीमा नाका बन्द गरिएको अवस्थामा अवैध नोटसहित नेपाल प्रवेश गरेपछि उनी पक्राउ परेका हुन् ।