इटहरीः ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रमा भएको आगलागी आंशिक रुपमा नियन्त्रणमा आएको छ । आठ दिनयता तिव्र रुपमा फैलिरहेको आगलागीको विस्तार रोकिएको प्रमुख जिल्ला अधिकारी झरेन्द प्रसाद चापागार्इँले बताए ।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको संयुक्त प्रयासमा आगलागी आंशिक रुपमा नियन्त्रणमा लिइएको हो । आगलागी पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेकाले नियन्त्रणको कार्य अझै जारी नै रहेको प्रजिअ चापागाईँले बताए । उनका अनुसार रुखका मुढाहरुमा लागेको आगो अझै निभाउन सकिएको छैन । पाँच सय रोपनी वन क्षेत्रमा लागेको आगोबाट साल, सल्ला, गुराँसजस्ता बहुमूल्य काठजन्य रुखहरु नष्ट हुनुका साथै रातो पाण्डा (हाब्रे) को बासस्थानसमेत नष्ट भएको छ ।
रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईका अनुसार सो वन क्षेत्रमा सातदेखि १२ ओटा रातो पाण्डाको बसोबास रहेको थियो । पाथीभरा मन्दिरलाई आगलागीबाट बचाउन हेलिकप्टरमार्फत् पानी वर्षाइएको थियो । विकट पहाडी जिल्ला ताप्लेजुङमा पानीको चरम संकट रहने भएकाले आगलागी नियन्त्रण चुनौतिपूर्ण बनेको हो ।