इटहरीः मोरङको विराटनगर महानगरपालिका १६ स्थित हुलास मेटल चौकबाट प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी इटहरी उपमहागरपालिका २ बरगाछी बस्ने ३२ वर्षीय अमित लिम्बु र हेमराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार बा २ च ६१११ नम्बरको कारमा सवार अभियुक्तहरुलाई सवारी चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । अभियुक्तहरुका साथबाट प्रहरीले डाईलेक्स डिसीजस्तो देखिने तरल पदार्थ १ गिलेनका साथै अभियुक्त लिम्बूले बोकेको नाईट्रोभेट १० लेखिएको २४ ट्याब्लेट र आठ चक्की स्पास्मोप्रोक्सिभनसमेत बरामद गरेको प्रवक्ता राईको भनाइ छ ।

अभियुक्तहरुलाई कारसहित नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका उनीहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।