इटहरीः मोरङको बेलबारीमा १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारीस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा मिटर रिडरका रुपमा कार्यरत मोरङको सुन्दरहरैँचा नगरपालिका २ निवासी ४० वर्षीय लेखनाथ रिजाल रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनका अनुसार मिटर रिडिङ गर्ने सिलसिलामा बेलबारीस्थित एक घरमा पुगेका अभियुक्त रिजालले १३ वर्षीया बालिकामाथि गत शनिबार बलात्कारको प्रयास गरेका हुन् ।

अभियुक्त रिजाल विगत १० वर्षदेखि विद्युत् प्राधिकरणमा कार्यरत रहेका थिए । घटनालगत्तै पीडित बालिकाका आफन्तले अभियुक्त रिजालविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि उनलाई पक्राउ गरी आजै जिल्ला अदालतबाट बलात्कार प्रयास अभियोगमा म्याद थप गराई अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ । अभियुक्त रिजाल इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा रहेका छन् ।