इटहरीः झापा र उदयपुरमा हिजो भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १ –०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकलाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६०९८ नम्बरको यात्रुबहाक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङ र पछाडि सवार इटहरी उपमहानगरपालिका–५ की २८ वर्षीया सलिजा राई रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारार्थ झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएकोमा उपचारका क्रममा हिजो अपराहन्न करिब ४ बजे उनीहरुको ज्यान गएको हो । दुर्घटना गराउने बसका चालक मोरङको कानपोखरी गाउँपालिका– ७ का २७ वर्षीय नवीन खड्कालाई बससहित नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । यसैबीच, उदयपुरको रौतामाई गाउँपालिका–१ तालथुकीमा गएराति करिब ८ बजे भएको ट्याक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै ज्यान गएको छ ।
मृत्यु हुनेमा प्रदेश २–०२–०१–००१ त १०१७ नम्बरको ट्याक्टरका चालक उदयपुरको त्रियुगा नगरपालिका–७ कालीखोलाका २० वर्षीय केशव विक रहेको प्रहरीले जनाएको छ । रौतामाईको नामेटारतर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको ट्याक्टरमा सवार रौतामाई–१ का ४८ वर्षीय कर्मध्वज तामाङ, २१ वर्षीय सन्तोष तामाङ, ३५ वर्षीया ज्ञानी तामाङ र १९ वर्षीया सीता तामाङ घाइते भएकोमा उनीहरुलाई उपचारार्थ विराटनग पठाइएको प्रहरीले जनाएको छ ।