इटहरीः कारोना संक्रमणको कारण रोकिएको समुदाय प्रहरी साझेदारी कार्यक्रम इटहरीमा पुनः सुरु गरिने भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरी र इटहरी उपमहानगरपालिकाका १६ वटा वडा संयोजकको भेलाले कार्यक्रमलाई अब निरन्तरता दिने निर्णय गरेको छ । वडा संयोजक भेलाले कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै वडाहरुमा टोल समिति निर्माणको कामलाई सक्ने, ब्यानर बनाउने र कार्यक्रमहरु बनाएर सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । समुदाय प्रहरी पालिका समिति इटहरीको आयोजना गरिएको कार्यक्रममा अब प्रहरी र जनप्रतिनिधिहरु एक भएर कार्यक्रमलाई प्रभावकारी रुपमा समुदायमाझ पुर्याउने सहमति भएको थियो ।

पालिका समितिका संयोजक मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा भएको भेलाले समाजमा बढ्दो महिला हिंसा, साइबर अपराध, ठगीजस्ता घटनाहरु न्यूनीकरण गर्न प्रहरी र जनप्रतिनिधि एक भएर लाग्नु अबको आबश्कता भएको वडाध्यक्षहरुले जोड दिएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डिएसपी) अर्जुन केसीले पनि समुदाय सुरक्षाको लागि तल्लो तहबाट गरिने कार्यक्रमले प्रभावकारिता राम्रो देखाउने बताए । कार्यक्रममा कोरोना संक्रमणको बीचमा पनि समुदायसँग जोडिएर इटहरी प्रहरीले विभिन्न कार्यक्रम गरेको समेत केसीले जानकारी गराएका थिए ।