इटहरीः सुनसरीको दुहबी नगरपालिकाले नगरका एक सय १६ अति विपन्न परिवारलाई घर बनाइदिने भएको छ ।
नगरप्रमुख आवास कार्यक्रमअन्तर्गत नगरले प्रदेश सरकार र संघीय सरकारको लागत सहभागितामा एक सय १६ वटा घर बनाउने भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ बाट नगरमा एक सय १६ विपन्न परिवारलाई आफ्नै घर बनाउने उद्देश्यका साथ आवास कार्यक्रमको सुरुवात गरेको थियो । सोही आर्थिक वर्षमा नगरले ५० वटा घरको डिपिआर तयार गरी निमार्ण सुरु गरेको नगरका पूर्वाधार शाखा प्रमुख इन्जिनियर रामकुमार यादवले जानकारी दिए । उनका अनुसार नगरले २ विघा व्यक्तिको जग्गा खरिद गरेर २०७६ सालमा यो कार्यक्रमको अवधारण विकास गरेको हो । उनले हाल प्रदेश सरकारको ५० लाख, संघीय सरकारको ४५ लाख र बाँकी नगरको बजेटबाट खर्च हुनेगरी ५० वटा घर तीन लाख ३९ हजार ८१ हजारमा ठेक्का लगाइएको जानकारी दिए ।
साथै उनले यो आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौतासहित ठेक्का लगाइएका ५० वटा घर यो वर्षको अन्त्यसम्म बनिसक्ने जानकारी दिए । ‘हामीले यहाँ एक सय १६ घरको लागि लगभग ८ करोडको डीपीआर तयार गरेका थियौँ । पहिलो फेजमा हामीले ५० वटा घर निमार्ण थाल्यौँ । यसमा प्रदेश र संघीय सरकारको पनि लगानी रहनेगरी ५० वटा घर हामीले तीन करोड ४० लाखमा सम्पन्न गर्नेगरी साह ब्राइट बुल जेभिसँग सम्झौता भएर काम भइरहेको छ । वहुवर्षे योजनाअन्र्तगत यो योजनामा काम भइरहेको छ’, उनले भने । प्रत्येक घरमा एउटा शौचालय, भान्सा कोठा र दुई वटा सुत्ने कोठा रहेको शाखा प्रमखु यादवले जानकारी दिए । इनरुवा–दुहबी सडक खण्डबाट झण्डै ३ किलोमिटर भित्र नगरप्रमुख आवास कार्यक्रमको अहिले ५० वटा घरको काम धमाधम भइरहेको छ ।
योजना शाखा प्रमुख ईन्जिनियर यादवले यो आर्थिक वर्षमा पुनः ३० वटा घरको डीपीआर तयार भएर ठेक्काको प्रक्रियामा रहेको जानकारी दिए । उनले ती ३० वटा घरको आर्थिक वर्ष २०७८÷०७९ सम्म निर्माण सम्पन्न हुने सम्झौतासहित ठेक्का लगाइने जानकारी दिए । विशेषगरी नगरपालिकामा वर्षौँदेखि वस्दै आएका डोम समुदायलार्य लक्षित गर्दै नगरले यो कार्यक्रम ल्याएको हो । यो वर्षभित्र नगरले ५० अति विपन्न परिवारलाई नयाँ आफ्नै घर दिने लक्ष्य लिएको छ । यो वर्षको अन्त्य र २०७८ को वैशाख पहिलो सातासम्ममा नगरले अति विपन्न परिवार छनौट गरेर घर दिने नगरपालिकाले जानकारी दिएको छ ।