इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित नहरनजिकबाट लागूऔषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–८ स्थायी ठेगाना भएका ३६ वर्षीय व्यापारी किसन अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक मानबहादुर राईले बताए । भारतीय सीमावर्ति बजार जोगबनीबाट लागूऔषध लिई नेपाल प्रवेश गर्नै लाग्दा बिहान ११ बजे उनलाई लागूऔषध नियन्त्रण ब्युुरोको टोलीले तीन ग्राम एक सय ६० मिलिग्राम ब्राउन सुगरसहित सवारी जाँचका क्रममा पक्राउ गरेको प्रवक्ता राईको भनाइ छ । अभियुक्तले प्रयोग गरेको मे १ च ५८६२ नम्बरको सेतो कारसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
अभियुक्त अग्रवालका साथबाट नगद दुई सय रुपैयाँ बरामद भएको छ । अभियुक्त अग्रवालको परिवार धान चामलको व्यवसायमा स्थापित रहेको छ । अग्रवाल भने लागूऔषधको दुव्र्यसनमा लागेकाले पटक पटक पक्राउ पर्ने गरेका छन् । पाँच वर्षअघि भारतको पुर्णियामा पनि उनलाई लागूऔषधसहित भारतीय प्रहरीले पक्राउ गरी तीन महिनासम्म हिरासतमा राखेको थियो । यद्यपी, उनीविरुद्ध भारतमा मुद्दा भने चलेन । लागूऔषध सेवन गरेकै अवस्थामा पक्राउ परेका अग्रवालले प्रहरीसमक्ष आफूले २० रुपैयाँको लागूऔषध खरिद गरेको बयान दिएका छन् । अभियुक्त अग्रवालउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीको प्रकृया अगाडि बढाइने प्रहरीले जनाएको छ ।