इटहरीः मोरङको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले आइतबार एक मानसिक रोगीको उद्दार गरी आफैँले संरक्षणका निम्ति एक परोपकारी संस्थासम्म पुर्याएकी छन् ।
उनले नगरपालिकाको आफूले प्रयोग गर्ने गाडीमा राखेर ती महिलाको उद्दार गरेकी हुन् । बेलबारी १० की ती महिला लामो समयदेखि मानसिक रुपमा अस्वस्थ रहेको थाहा पाएपछि इटहरीस्थित आमाघरको संरक्षणमा रहनेगरी संस्थासँग समन्वय गरेर ती महिलाको व्यवस्थापन गरिएको हो । गाउँमा बालबच्चा ज्येष्ठ नागरिक जोगाउन गार्हो भएकाले यो विकल्प खोज्नुपरेको उपमेयरसहित आमाघर पुगेकी कार्यपालिका सदस्य गीता गिरीले बताइन् ।
कहिले छिमेकीको गाइभैँसी फुकाइदिने,वस्तुभाउ कुटिदिने होहल्ला गर्ने बानीले ती महिलाका कारण दिनहुँ गाउँ टोल सन्त्रस्त भएकोले काउन्सिलिङका लागि संस्थाको सहयोग लिनुपरेको उपमेयर पराजुलीले बताइन् । उपमेयर पराजुलीको अगुवाइमा यसअघि पनि बेलबारीका दर्जनौँ बेसहारा र अशक्त सडक मानवहरुको उद्दार भइसकेको छ ।