इटहरीः सुनसरीको इटहरीमा पृथ्वी जयन्ती मनाउँदै गर्दा एक हेर्न लायक दृष्य देखिएको छ । त्यो हो महिलाले बजाएको पञ्चेबाजा ।
प्रायः पञ्चेबाजा भन्नेबित्तिकै तल्लो स्तरको जातिले बजाउने बाजा भनेर मानिसले चिन्ने गरेका छन् । तर, इटहरीमा भने महिलाहरुले नै पञ्चेबाजा बजाएर सबैलाई चकित पारेका छन् । सीप विकास इटहरीमा आवद्ध महिलाहरुले केही समय सिकेर पञ्चेबाजा बजाएका हुन् । उनीहरुले दमाह, मादल र सनाइ मात्र नभएर धेरै परिश्रम लगाएर बजाउनुपर्ने बाजा नरसिङा पनि बजाएका थिए । पृथ्वीनारायण शाह बनेका व्यक्तिलाई घोडामा सयर गराएर नगरपारिक्रमा गराइएको बेला उनीहरुले पञ्चेबाजा बजाएका हुन् ।
सोमबार देशभर २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ । पृथ्वीनारायण शाहले टुक्रा टुक्रामा विभाजित नेपाललाई एकीकरण मात्र नगरेर बहुजातीय, बहुभाषिक र बहुसँस्कृतियुक्त नेपाललाई एउटै मालामा गाँस्ने काम गरेका थिए । उनको त्यही योगदानलाई कदर गर्दै हेरक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाइन्छ । इटहरीमा पनि यस वर्ष राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाइएको छ ।