इटहरीः झापाको दमक नगरपालिका–३ मा रहेको भुटानी शरणार्थी शिविरमा हिजो साँझ आगालागी हुँदा एक जना शरणार्थीको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६० वर्षीय भुटानी शरणार्थी देशमान राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाले बताए । बिरामी अवस्थामा सुतिरहेका बेला छाप्रोमा आगलागी हुँदा भाग्न नसकी उनको ज्यान गएको प्रवक्ता थापाको भनाइ छ । मृतकको शव पोष्टमार्टमका लागि पठाइएको बताउँदै थापाले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

आगलागीबाट एक तोल सुन, १० तोला चाँदी, तीन लाख नगद, खाद्यान्न, लत्ताकपडा लगायत जरेर नष्ट हुँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । शिविरको सेक्टर नम्बर डी–४ छाप्रा नम्बर ३२५ मा लागेको आगो नेपाल प्रहरी, नेपाली सेना दमकलका साथै स्थानीयको प्रयासमा नियन्त्रणमा आएको छ । आगलागी कारण हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।