इटहरीः मोरङको विराटनगर महानगरपालिका अन्तर्गतका भारतीय सीमावर्ति क्षेत्रहरुबाट प्रहरीले हिजो ४४ हजार रुपैयाँ मूल्य बराबरका अवैध पैठारी गर्न लागिएका सामान बरामद गरेको छ ।

हिजो बिहान ६ः४५ बजे प्रहरीको गस्ति टोलीले भारतीय सीमावर्ति क्षेत्रमा पर्ने विराटनगर महानगरपालिका १४, जतुवाबाट दुई बोरा प्याज, दुई बोरा लसुन, दुई बोरा चिनी र विभिन्न ब्राण्डको एक बोरा बिस्कुट गरी १४ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो ।

यसैगरी, विराटनगर महानगरपालिका १७, मटेरुवाबाट हिजो बिहान करिब ६ बजे प्रहरीको गस्ति टोलीले झन्डै ३० हजार रुपैयाँ मूल्य पर्ने एक सय ५० थान पर्ससमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि रानी भन्सार कार्यालयमा बुझाइएको छ ।