इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ११ स्थित बेलेपुरमा रहेको झर्ना खोलामा आज दिउँसो एक युवकको शव फेला परेको छ ।
मोरङकै ग्रामथान गाउँपालिका–७ का ३३ वर्षीय मनोज साहको शव फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमृख प्रहरी निरीक्षक ऋषिराज बरालले बताए । उनका अनुसार हिजो दिउँसोदेखि घरबाट हराएका साह आज घरभन्दा दुई किलोमिटर पर मृत अवस्थामा भेटिएका हुन् ।
मृतकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको बताउँदै प्रहरीले शवको पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाइएको जनाएको छ । युवकको मृत्युको कारणबारे पोष्टमार्टमको रिपोर्टपछि मात्र यकिन तथ्य प्राप्त हुने बताउँदै उनले प्रहरी घटनाको अनुसन्धानमा जुटिसकेको बताए ।