इटहरीः मोरङको विराटनगरस्थित रानी भन्सार क्षेत्रमा भारतबाट सामान आयात गर्नका लागि पालो पर्खी बसेका भारतीय सवारी चालकको ट्रकभित्रै ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पीबी ०९ एक्स २९६४ नम्बरको भारतीय ट्रकका चालक पञ्जाब घर भएका ५३ वर्षीय नुर मोहम्मद रहेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले बताए । उनका अनुसार मंगलबार राति पञ्जाबकै सहचालक २५ वर्षीय अब्दुल लतिकसँग आफैँले चलाउने ट्रकमा सुतेका मोहम्मद बिहान मृत अवस्थामा फेला परेका हुन् । नेपालतर्फ भारतीय सामान आयात गर्दै आएका चालक मोहम्मद चार दिनदेखि सामान लिन भारत जाने पालो पर्खेर बसेको निरीक्षक थापाको भनाइ छ ।

विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित खोक्सामा ट्रक राखी सोही ट्रकमा ओछ्यान लगाई सुत्ने गरेकोमा ओढ्ने ओढेर सुतेकै अवस्थामा उनको शव भेटिएको थापाले बताए । शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाइएको बताउँदै प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।