इटहरीः लकडाउन सुरु भएयता काठमांडौमा अलपत्र परेका विपन्न नागरिकलाई विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले आज माघे संक्रान्तिका अवसरमा सर्वसाधारणलाई यसै पर्वका अवसरमा खाइने खाना वितरण गरेको छ ।
थापाथलीस्थित प्रसुति गृहनजिकै सरकारले उपलब्ध गराएको जग्गामा दैनिक रुपमा खाना वितरणलाई निरन्तरता दिएको टिमले आज सेलरोटी, चाकु, तरुल, खिचडी, घ्यूउलगायतका खानेकुरा वितरण गरेको हो । टिमले उपलब्ध गराएको खाना ठूलो संख्यामा उपस्थित सर्वसाधारणलाई वितरण गरिएको हो । रोजगारी गुमाएका विपन्न परिवारले पनि चाडपर्व मनाउन सकुन् भन्ने उद्देश्यले टिमले खाद्यान्न वितरण गरेको टिमका अध्यक्ष बिमल पन्तले बताए ।
आगामी दिनमा पनि चाडपर्वलक्षित खाद्यान्न वितरणलाई निरन्तरता दिने टिमको योजना रहेको उनको भनाइ छ । हाम्रो टिमले खाद्यान्न वितरण गर्ने स्थानमा आएका सर्वसाधारणले रोजगारी गुमाएका नागरिकलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।