इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १० स्थित टेङ्ग्रा खोलामा गत आइतबार फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ ।

सो शव धनकुटाको छथर जोरपाटी ४ तेलिया घर भएका ४७ वर्षीय टेकबहादुर अधिकारीको रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले बताए । उनका अनुसार खोलामा डुबेको अवस्थामा फेला परेको शव चोटग्रस्त अवस्थामा रहेको छ । निधार र घाँटीमा चोटका साथै तिघ्रामा निलडाम फेला परेको नायबउपरीक्षक केसीको भनाइ छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गराएको प्रहरीले आफन्तको उजुरीका आधारमा घटनाको अनुसन्धान सुरु गरेको छ ।

मृतकका भाइ रामबहादुरले शवको प्रकृतिका आधारमा हत्याको आशंका गर्दै दोषीमाथि कारबाहीका लागि उजुरी दर्ता गराएको नायबउपरीक्षक केसीले बताए । मृतकको मोबाइलमा रहेको सम्पर्क नम्बरका आधारमा पहिचान खुलाएको प्रहरीले उनी एक वर्षअघि विराटनगरमा बस्दै आएको र अन्तिम पटक श्रीमती र छोरीसँग भएको कुराकानीका क्रममा आफू केही दिनपछि घर आउने बताएको तथ्य पत्ता लगाएको केसीले बताए ।