इटहरीः सुनसरीको इटहरीमा पछिल्लो समय सडक विस्तारको काम भइरहँदा पूरै सहर धुलाम्मे भएको छ ।
सामान्य रुपमा आवातजावात गर्नेलाई मात्र होइन, सवारी साधनमा यात्रा गर्नेलाई समेत यहाँ धुलोले समस्या हुने गरेको छ । मुख्य चौक आसपासमा पुरानाो सडक भत्काएर नयाँ विस्तारको काम हुँदा धुलोले इटहरीलाई ढाकेको हो । यस्तै, इटहरी चौकबाट धरानलाइन र विराटनगरलाइनमा पनि अहिले सडक विस्तारको काम भइरहेको छ । अन्यको तुलनामा यी क्षेत्रमा नै धुँवाधुलोको मात्रा बढी देखिएको छ । रानी–धरान ६ लेन सडक आयोजनाले सडक विस्तारको लागि लामो समयसम्म काम नसक्दा यहाँका स्थानीयहरु समस्यामा परेका हुन् । इटहरीलाई हरित नगरीको उपमा दिइएको छ । तर, अहिलेको प्रदुषणले इटहरी धुलित नगरीमा परिणत भएको छ ।
मुख छोप्न मास्क लगाए पनि टाउको धुलाम्मे हुने गरेको छ । त्यति मात्र होइन, धुलोले बिहान लगाएर हिँडेको कपडा बेलुकासम्म रङ नै परिवर्तन हुने अवस्था छ । हुन त काठमाडौँ र विराटनगरमा जस्तो यहाँको वायु हानिकारक छ भनेर समाचारमा आएन तर पनि ती ठाउँको भन्दा कम समस्या भने यहाँ छैन । धुलोलाई कम गर्न बिहान एक पटक इटहरीमा पानी टंकीको सहायतामा सडकमा पानी हाल्ने गरिएको छ । केही समय त्यसले धुलोलाई नियन्त्रण गरे पनि पछि त्यो पुनः धुलोमा परिणत हुन्छ ।
धुलो धुँवाले आफूहरु मर्कामा परेको यहाँका स्थानीय तथा अन्य ठाउँबाट सवारी साधनमा आएकाहरु बताउँछन् । इटहरीमा धेरै वर्षदेखि इ–रिक्सा (सिटि सफारी) चलाउँदै आएका प्रसिद्ध निरौलाले धुलोका कारण मानिसहरुलाई विभिन्न रोग लागेको जानकारी दिए । कुनै बेला सुन्दर नगरीका रुपमा प्रसिद्ध इटहरीमा धुलोका कारण रुघा लाग्ने र मानिसहरुलाई कोरोनाको शंका गर्न थालिएको निरौलाको भनाइ छ । उनले इटहरीका मेयर र उपमेयरले सिसा भित्रबाट सडकको धुलो नदेखेको आरोप लगाए । उपमहानगरले यो समस्या समाधान गर्न नजरअन्दाज गरेको उनको भनाइ छ । उनको जस्तै गुनासो छ अर्का पैदलयात्री सुरेश तामाङको । तामाङले मास्कको प्रयोग गरे पनि धुलोबाट बच्न नसकेको बताएका छन् । उनले आफू दैनिक हिँडडुल गर्नुपर्ने तर धुलोका कारण समस्यामा परेको बताए । उनले धुलो हटाउन प्रयोग गरिने पानीले झनै समस्या पर्ने भन्दै छिटो सडक विस्तारको काम सकिनुपर्ने बताए ।