इटहरीः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क दुर्घटना बीमा गरेको छ ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका दुई सय ६० जना पत्रकारहरुको एक वर्षे द७ुर्घटना बीमा गरिएको हो । मंगलबार अजोड ईन्स्योरेन्स कम्पनी सुन्धारा काठमाडौँमा ईन्स्योरेन्सका कार्यकारी प्रमुख कुमारबहादुर खत्री र युनियन सुनसरीका अध्यक्ष अधिकारीबीच सम्झौता भएको छ । सम्झौतामा एक वर्षसम्म बीमा गरेका पत्रकारको दुर्घटनामा मृत्यु भएमा ७ लाख र दुर्घटनामा घाईते भएमा ७० हजारसम्म प्रदान गरिने उल्लेख गरिएको छ ।
‘हामीले यसअघि कोरोना बीमा गरेका पत्रकारहरुको दर्घटना बीमा गरिएको हो,’ अधिकारीले भने, ‘यनियन सुनसरीले विराटनगरको नोबेल अस्पतालसँग जिल्लाका पत्रकारको उपचारका लागि ५० प्रतिशत छुट गर्नेगरी सम्झौतासमेत भएको छ ।’ उनका अनुसार यसअघि कोरोना बीमा गरिएकामध्ये ३२ जनालाई संक्रमण भएको र ती मध्ये २२ जनाको जनही १ लाखका दरले पैसा आइसकेको छ । ‘२२ जनाको पैसा आइसेको र १६ जनाको हस्तान्तरण भइसकेको छ,’ उनले भने, ‘बाँकीको केही दिनमा एक कार्यक्रम गरी पैसा हस्तान्तरण गरिनेछ, अन्य दश जनाको आउने प्रक्रियामा छ ।’
उनका अनुसार यसअघि युनियन कार्यसमितिले पत्रकारहरुका लागि फुड बैँकसमेत सञ्चालनमा ल्याएको थियो । फन्ट्रलाइनमा रहेर दैनिक फिल्डमा खट्ने पत्रकारहरु जोखिममा रहेकाले आँफूहरुले उक्त बीमाको कार्यक्रम ल्याएको उनको भनाइ छ । उनका अनुसार सुनसरीका दुई सय ६० जना पत्रकारले आफ्नो परिचय खुल्ने परिचयपत्र उपलब्ध गराएपछि बीमाको प्रक्रिया अगाडि बढ्नेछ ।