इटहरीः मोरङको पथरीस्थित इलाका प्रहरी कार्यालय (क) का प्रमुख प्रहरी नायबउपरीक्षक दीलिपकुमार गिरीको निर्धारित स्थानीय कार्यकाल र कार्यावधि सकेर सरुवा हुन लागेलगत्तै उद्योग वाणिज्य संघ पथरी शनिश्चरेले आज उनको नाम र सम्मानमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाका महासचिव अशोककुमार राईंको सारगर्भित सम्बोधनसहित सम्पन्न कार्यक्रममा अध्यक्ष दीपक बस्नेतले संस्थाको तर्फबाट सुन्दर शब्दचित्र अनुरुप तयार पारिएको मायाको चिनो हस्तान्तण गर्ने क्रममा प्रहरी नायबउपरीक्षक दीलिपकुमार गिरीको कार्यकाल तुलनात्मक रुपमा सर्वथा भिन्न र अनुकरणीय रहेको दर्शाउँदै उनीसँगको सहकार्य आफैंमा निकै अविस्मरणीय रहेको बताए । कार्यक्रममा पथरी अस्पतालका निर्देशक इश्वर सापकोटाद्वारा उपहारस्वरुप तयार गरिएको प्रहरी नायबउपरीक्षक गिरीको अर्धकदको चित्रपट र रेडस्टार अङ्ग्रेजी आवासीय माविका प्रिन्सिपल टीएन तिम्सिनाले गिरीसँगको सहकार्यको उल्लेख्य पक्षको प्रशस्ती–वाचन सहितको सम्मान–पत्र समर्पण गरेका थिए ।

संस्थाका सल्लाहकार एवं राजनीतिक व्यक्तित्व युवराज बास्कोटाले यहाँबाट लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला सरुवा भएका प्रहरी नायबउपरीक्षक गिरीले पथरी शनिश्चरेको राम्रो पक्षलाई लिएर जाने, त्यहाँ त्यस क्षेत्रमा व्यापक प्रचारप्रसार गरिदिने र त्यो गौतम बुद्धको जन्मस्थललाई यो ठाउँ र गाउँसम्मको प्रगाढ साइनो–सम्बन्ध जोड्नमा राज्यको तर्फबाट दूतको रुपमा रहेर अर्को पृथक खालको भूमिका समेत निर्वाह गर्ने विश्वास व्यक्त गरे । १३ महिना ५ दिनको आफ्नो स्थानीय कार्यकाल पूरा गरेर एउटा प्रक्रियाभित्र नवलपरासी जिल्लाको सहायक जिम्मेवारीमा जान लागेका प्रहरी नायबउपरीक्षक गिरीले आफूले यहाँबाट कामका दौरान धेरै कुरा सिकेको स्मरण गर्दै यो सिकाइलाई भविष्यमा पनि अनिवार्य प्रयोग गर्ने योजना रहेको बताए ।

उद्योग वाणिज्य संघको कार्यकक्षमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष यादवचन्द्र दुलाल, शिक्षक राजु तिम्सिना र बेदनीधि खनाल, स्थानीय व्यवसायी उद्धवबहादुर बस्नेत र रमेश गौतम र कार्यालय सचिव सम्झना तामाङलगायतको उपस्थिति रहेको थियो ।