इटहरीः सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ७ स्थित बरडाँडा गिद्धेभीरमा गएराति भएको टिपर दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा टिपरका चालक अन्दाजी ३२ वर्षीय कमल मगर, सोही टिपरमा सवार अन्दाजी ३२ वर्षीय राजकुमार मगर र सप्तरीको सुरुङ्गा गाउँपालिका ८ घर भएका १९ वर्षीय कृष्णराज चौधरीको घटनास्थलमै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा परी मकवानपुरको बाग्मति गाउँपालिका ४ घर भएका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएकोमा निजलाई उपचारार्थ सोलुखुम्बुकै फाप्लु अस्पताल पठाइएको प्रहरीको भनाइ छ । दुधकुण्ड नगरपालिका ७ स्थित २३.५ हाइड्रोबाट सोही नगरपालिकास्थित ११८६ भदौरे हाइड्रोमा जादै गरेको टिपर राति ११ बजे अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो ।