इटहरीः अस्पताल र डाक्टरको लापरबाहीले सुनसरीको धरानमा एक महिलाको शल्यक्रियापछि मृत्यु भएको छ ।

 इटहरी उपमहानगरपालिका २ की ३१ वर्षीया दीपा राईको धरानमा रहेको विजयपुर अस्पतालको लापरबाहीले मृत्यु भएको हो । गत माघ ४ गते पत्थरीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा समस्या देखिएको थियो । अस्पतालका चिकित्सक डाक्टर ज्ञानेन्द्रप्रसाद दासले उनको शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि उनको रक्तश्राव भएको र बारम्बार प्रयास गर्दा पनि नरोकिएपछि दासले धरानमै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफार गरेका थिए । उनले रेफर मात्रै गरेनन्, एम्बुलेन्समा परिवारसँगै बसेर स्वयम बीपी प्रतिष्ठान पुगेका थिए । मृतक दीपाकी काकी सवनम राईका अनुसार दासले नै एम्बुलेन्समा राखेर सँगसँगै बीपीको आईसीयूमा पुगेका थिए । दीपाको मृत्यु भएको खबर परिवारले पाउनुअगाडि नै दासले आफ्नो काम परेको भन्दै अस्पतालबाट निस्किएको सवनमले जानकारी दिइन् । पछि मात्र आफूहरुले दीपाको मृत्यु भएको थाहा पाएको र उनको मृत्युबारे थाहा पाएर नै दास भागेको सवनमले जानकारी दिइन् ।

दीपाका श्रीमान राजेन्द्र राईले अस्पतालले लापरबाही गरेका कारण आफ्नी श्रीमतीको मृत्यु भएको बताएका छन् । उनले घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गरेको पनि जानकारी दिए । उनले आफ्नी श्रीमतीको मृत्युमा अस्पताल नै दोषी भएको र त्यसमा संलग्न डाक्टर र अस्पताललाई कायबारी गर्न माग गरेका छन् । साथै उनले अस्पतालले आवश्यक क्षतिपूर्ति पनि व्यहोर्नुपर्ने बताए । उच्च रक्तश्राव भएको भन्दै बीपी रेफर गरिएकी दीपाको अस्पताल पुर्याएको केही समयमै मृत्यु भएको थियो ।

20210118_203629