इटहरीः सुनसरीको दुहबी नगरपालिका १० स्थित दुहबी इनरुवा सडकखण्डमा आज दिउँसो १२ः३० भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा परी १० जना घाइते भएका छन् । दुहबी इनरुवा सडकखण्डमा दुहबीबाट इनरुवातर्फ गइरहेको प्रदेश १ ०२ ००१ ज ३८६८ नम्बरको विङ्गर माइक्रो र विपरित दिशाबाट आइरहेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक इनरुवा नगरपालिका ३ बस्ने ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरीको राजविराज नगरपालिका १ बस्ने अन्दाजी २२ वर्षीय शंकर यादव र सनाखत हुन नसकेका एक एक व्यक्तिको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार सहचालक यादवको मोरङको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा ज्यान गएको हो ।

मोटरसाइकल चालक मण्डलको भने घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । दुर्घटनामा परी विराटनगर १४ बस्ने ५२ वर्षीय जयनारायण यादव, सप्तरीको मन्सापुर नगरपालिका बस्ने ६० वर्षीया इन्द्रकलादेवी सिंह, सप्तरीको राजविराज ७ बस्ने १४ वर्षीय निरज यादव, सुनसरीको इनरुवा ८ बस्ने ५२ वर्षीय चन्द्र मेहता, सप्तरीको राजविराज ७ बस्ने ३८ वर्षीय सुरेश मण्डल, सुनसरीको भोक्राहानरसिंह ३ बस्ने १९ वर्षीय प्रसान्त यादव, सुनसरीको बराहक्षेत्र १० बस्ने २३ वर्षीय भरत यादव, सुनसरीको इनरुवा ८ बस्ने ५२ वर्षीया शान्ति मेहता, सुनसरीको इनरुवा ३ बस्ने ३० वर्षीय मनोज अधिकारी, इनरुवा ३ कै अन्दाजी २२ वर्षीया प्रशंसा सुवेदी घाइते भएको प्रहरीको भनाइ छ । दुर्घटना गराउने माइक्रोका चालक फरार रहेकाले खोजीकार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।