इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित लोहोन्द्रा साझेदारी वन क्षेत्रमा आज जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ घर भएकी २८ वर्षीया सीता पराजुली रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनका अनुसार बिहान ९ बजे हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएकी पराजुलीलाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पठाइएकोमा उपचारका क्रममा दिउँसो १ः३० बजे उनको ज्यान गएको हो । वडा अध्यक्ष राजेन्द्रबहादुर थापाले दुई साता अघिदेखि नै जङ्गल आसपासमा हात्तीको गतिविधि बढिरहेको पाइएको बताए ।

सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको भएपनि लापरबाहीका कारण मानवीय क्षति हुन पुगेको उनको भनाइ छ । थापाका अनुसार समूहमा रहेका हात्ती दिनभर जङ्गलतिर बस्ने र रात परेपछि गाउँतिर छिर्ने गर्छन् । जङ्गलमा खानेकुरा अभाव भएकाले खानेकुरा खोज्दै हात्ती गाउँतिर छिर्ने गरेको हुनसक्ने उनको अनुमान छ ।