इटहरीः संखुवासभाको चैनपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयले बाँकेको नेपालगञ्जबाट ठगी अभियोगका अभियुक्तलाई हिजो मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठगी धन्धाका मुख्य योजनाकार धनकुटाको छथर गाउँपालिका–६ का ३३ वर्षीय रमेश भन्ने नरेन्द्र थापा रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । उनका अनुसार अभियुक्त थापाविरुद्ध नक्कली कम्पनी स्थापना गरी लाखौँ रुपैयाँ ठगी गरेको भनी चैनपुर नगरपालिका ३ र ४ का किसानहरुले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । अभियुक्तउपर पोखरी ग्रुप अफ कम्पनी प्रा.लि. नामक नक्कली कम्पनीबाट किसानसँग उन्नत जातको गाई उपलब्ध गराउने भनी अग्रिम पेस्कीबापत १० प्रतिशतका दरले ४ लाख १० हजार रुपैयाँ, दुग्ध चिस्यान तथा डेरी सञ्चालन गर्न भनी १४ लाख ४५ हजार रुपैयाँ असुल गरेको आरोप छ ।

यसका साथै, कम्पनीको सेयर सदस्यता शुल्कका रुपमा एक लाख ५५ हजार रुपैयाँ असुली गरेको आरोपसमेत उनीमाथि लागेको छ । यसअघि ठगीमा संलग्न रहेको आरोपमा चैनपुर–३ का ५६ वर्षीय चन्द्रबहादुर आले मगर, चैनपुर–४ का ३६ वर्षीय मिलन भनिने सुरेन्द्र राई माघ २ मा पक्राउ परेका थिए । अभियुक्तहरुले ठगी धन्धा २०७४ चैतदेखि चलाएको प्रहरीको भनाइ छ ।