विराटनगरः बेत बाँसबाट बनेका सामानप्रति मानिसको आकर्षण बढ्दै गएको छ । बढ्दो आकर्षणसँगै यसको व्यवसाय पनि फस्टाउँदै गएको व्यवसायीहरूको अनुभव छ ।
थोरै लगानी र कम मिहिनेतबाटै गर्न सकिने यो व्यवसायबाट नाम र दाम दुवै कमाउन सकिने पूर्वाञ्चल बेत बाँस उद्योगका सञ्चालक लक्ष्मी श्रेष्ठको भनाइ छ । विसं २०४९ देखि विराटनगरस्थित बसपार्क छेउमा बेतका सामान बनाएर बेच्दै आएका श्रेष्ठले बेतको उत्पादन नेपालमा कम हुने गरेका कारण छिमेकी राष्ट्र भारतबाट बेत मगाएर सामग्री निर्माण गर्ने गरेको जानकारी दिए । बेतबाट कुर्सी, टेबुल, ह्याङ्गर, सोफा, लठ्ठी, बच्चाको झलुङ्गो, पलङ, टुल, ढकिया, टेलिफोन राख्ने स्ट्यान्ड, मुढा, ¥याकजस्ता सामान बन्ने गरेका छन् । एक मुठा बेतको १ हजार २ सय भारतीय रुपैयाँ पर्ने गरेको उनको भनाइ छ । उनका अनुसार एक मुठामा २० देखि २५ वटा बेत हुन्छन् ।
हेर्दा सजिलो व्यापार भए पनि बेत ल्याउन झन्झटिलो भएको उनको अनुभव छ । भन्सारमा धेरै समस्या झेल्नुपरेको व्यवसायी श्रेष्ठले बताए । यसप्रति बढ्दो मानवीय रुचि र आकर्षणले यो व्यापार फस्टाउँदै गएको र व्यापार पनि राम्रै चलेको अनुभव श्रेष्ठको छ । ‘सामान बनाउन स्वदेशमै दक्ष जनशक्ति वा मजदुरको अभाव छ,’ उनले भने, ‘यसका लागि भारतबाट मजदुर ल्याउनुपर्ने अवस्था छ ।’ विशेषगरी चाडपर्व र बिहेको लगनका समयमा यसको बढी कारोबार हुनेगरेको उनले बताए । यस उद्योगबाट उत्पादित सामान मोरङ, सुनसरी, झापा र धनगढी बजारसम्म बिक्री हुने गरेको व्यवसायी श्रेष्ठको भनाइ छ । रोजगारीको अभावमा बर्सेनि विदेशिने युवाले यस्ता सीप सिक्न सके स्वदेशमै राम्रो आम्दानी गर्नसक्ने देखिन्छ । -रासस