इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याका एक आरोपी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सङ्खुवासभाको मादी नगरपालिका–४ घर भएका ३२ वर्षीय डबी सिलवाल भनिने धनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनका अनुसार अभियुक्त विकलाई प्रहरीले मोरङकै बुढीगंगा गाउँपालिका–४ बाट पक्राउ गरेको हो । विक चन्दा संकलनका लागि आएका बेला प्रहरीको फन्दामा परेको उनले बताए । एसपी खड्काका अनुसार अभियुक्त विकका साथबाट अटोमेटिक पेस्तोल, म्याजिन, तीन राउण्ड गोलीका साथै चारवटा मोबाइल, ११ वटा सिम कार्ड र को२४प ४००५ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

शिक्षकको हत्या गर्दाको समयमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मेची कोसी व्यूरो सदस्य रहेका अभियुक्त विक हाल पार्टीको मोरङ इन्चार्ज रहेको प्रहरीको भनाइ छ । अभियुक्त विक र अन्य पाँच जनाको संलग्नतामा गत मंसिर २३ गते ५४ वर्षीय शिक्षक श्रेष्ठको हत्या भएको थियो । हत्यामा संलग्न अन्य अभियुक्तहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।