इटहरीः सुनसरीको इटहरीमा रहेको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र शाखा (माथिलो यातायात कार्यालयबाट) सेवाग्रही मारमा परेका छन् ।

विभिन्न ठाउँबाट सवारी चालक अनुमतिपत्र लिन आउने सेवाग्रहीले त्यहाँ चरम लापरबाही भएको गुनासो गरेका छन् । भोजपुरबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन आएका कृष्ण कार्कीले ३ दिनदेखि यातायात कार्यालयमा धाउँदा पनि काम नभएको गुनासो गरे । आफू दुई दिनसम्म लाइनमा बसेको तर पालो नै नआएको उनको भनाइ छ । उनका अनुसार त्यहाँ सुरक्षा गार्डमार्फत् धेरै सेवाग्रहीले सेवा लिने गरेका छन् । ‘म तीन दिनदेखि यहाँ आएको छु । मेरो काम नै भएको छैन । कहिले कति नम्बरमा जा कहिले कति नम्बरमा जा भन्नुहुन्छ । तर, लाइनमा बस्दा नै हामी कहिले भित्र पस्न सकेनौँ । कोही आउनुहुन्छ गार्डको हातमा चिट दिनुहुन्छ अनि जानुहुन्छ भित्र । हामी त बाहिर उभिएर बसेको बस्यै हुन्छौँ’, उनले भने । उनले घण्टौँसम्म पनि लाइनमा बस्दा एउटा सानो समस्याबारे बुझ्न नपाएर आजित बनेको बताए । त्यसपछि जबरजस्ति कर्मचारीकहाँ जाँदा आफूलाई नराम्रो व्यवहार गरेको उनको भनाइ छ ।

‘म बिहान ११ बजेदेखि लाइनमा बसेको थिएँ । मेरो लाइसेन्सको परीक्षाको बारेमा एउटा सानो कुरा बुझ्नु थियो । तर, २ बजेसम्म बस्दा पनि त्यो सानो कुरा बुझ्न नपाएपछि म आजित भएर जबरजस्ति भित्र गएँ । मैले तपाईँहरुलाई सानो कुरा सोध्न पनि यत्रो समय लाग्छ भने तपाईहरुले कसरी काम गर्नुहुन्छ भनेर प्रश्न गरेँ । त्यहाँका कर्मचारीले जवाफमा मलाई हामी कामै त गरिरहेका छौँ नि के हामी गफ गर्दैछौँ र भनेर जवाफ दिए । उनको त्यो जवाफ दिने शैली र बोली मलाई मन परेन’, उनले भने । साथै उनले आफूलाई सुरक्षा गार्डले पनि अभद्र व्यवहार गरेको बताए । उनीजस्तै समस्यामा परेका छन् सुनसरीको हरिनगरा गाउँपालिकाबाट आएका अर्का सेवाग्रही । उनले आफूलाई एउटा झ्यालबाट अर्को झ्यालमा जा भन्दै दुई दिनसम्म झुलाएको बताए । टाढाबाट आउनुपर्ने हुँदा धेरै खर्च हुने त्यसमाथि यातायात कार्यालयले थप झण्झटमा पार्दा आफू समस्यामा परेको उनले गुनसो गरे ।

अभद्र सुरक्षा गार्ड
यही कार्यालयका एक सुरक्षा गार्डबाट आफूहरु बढी मारमा परेको सेवाग्राहीहरु बताउँछन् । उनीहरुले ती सुरक्षा गार्डले तल्लो स्तरको भाषा प्रायोग गरेर गाली गर्नुको साथै अभद्र व्यवहार गर्ने गरेको बताए । इटहरी उपमहानगरपालिका वडा नम्बर १ का जनप्रतिनिधिसमेत रहेका कैलाश कार्कीले सुरक्षा गार्डले सेवाग्रहीलाई कार्यालय प्रमुखलाई भेट्नबाट रोक लगाएको जानकारी दिए । उनले हरिनगराबाट आएका एक सेवाग्राहीले सुरक्षा गार्डले आफूलाई ३ दिन बितिसक्दा पनि कार्यालयका प्रमुखलाई भेट्न नदिएको गुनासो गरेपछि आफूले सुरक्षा गार्डसँग कुरा गर्दा आफू माथि नै अभद्र व्यवहार गरेको बताए । ‘हरिनगराबाट आउनुभएका एक जना सेवाग्राहीले मलाई तीन दिन बितिसक्दा पनि हाकिमलाई भेट्न नदिएको भनेर गुनासो गर्नुभयो । अनि मैले गार्डलाई बोलाएर यसो किन गर्नुभएको भनेर सोधँे । मलाई उसले को हो तपाईँ ? के काम छ ? भरे आउनु भनेर झर्किएर कुरा गर्यो’, उनले भने ।

gurd

जनताको करबाट तलब भत्ता खाने सरकारी कर्मचारीको यो व्यवहारले आजित बनेका उनको भनाइ छ । साथै ती सुरक्षा गार्डलाई यहाँबाट सरुवा नगरे कार्यालयमा नै ताल्चा लगाइदिने उनले चेतावनी दिए । इटहरी १ यातायात व्यवस्था कार्यालय छेउमा घर रहेका स्थानीय भुवनेश्वर ठाकुरले सेवाग्राहीले कार्यालय प्रमुखलाई नै भेट्न नपाएको गुनासो गरेपछि आफूहरु प्रमुखलाई भेट्न गएको तर सुरक्षा गार्डले भेट्न नदिएको बताए । ‘उनले हामीलाई ढोकामा नै रोकेर । तपाईँ को हो ? तपाई स्थानीय जनप्रतिनिधि हो ? तपाईँ माथि जान पाउनुहुँदैन । तपाईले हामीलाई तलब दिने हो ? म तपाईँलाई माथि जान दिन्न भनेर जवाफ दिए’, उनले भने । साथै उनले सुरक्षा गार्डले नै पैसा लिएर सेवाग्राहीलाई भित्र पठाउने गरेको आरोप लगाए ।