झापाः विभिन्न अपराधमा संलग्न भएर झापा कारागारमा ६० जना विदेशी कैदीबन्दीले सजाय काटिरहेका छन् । विभिन्न अपराधमा संलग्न भएर सजाय काट्ने विदेशी नागरिकमा छिमेकी भारतीय नागरिक बढी छन् ।

खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको छ । कारागारको तथ्याङ्कअनुसार तीन महिलासहित ६० विदेशी नागरिक झापामा कैद भुक्तान गरिरहेका छन् । अपराधमा संलग्न विदेशी नागरिकमध्ये लाग्रऔषध मुद्दामा एक महिला र चोरीमा दुई महिलाले जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका छन् । कारागारमा रहेका ५७ विदेशी पुरुषमध्ये अप्राकृतिक मैथुनसहित खोटा चलन, कीर्ते, अभद्र व्यवहार, डाका अपहरण, जबर्जस्ती करणी, लागूऔषध, कर्तव्य ज्यानलगायतका मुद्दामा जेल जीवन बिताइरहेका छन् । तीमध्ये लागूऔषध मुद्दामा २१ जनाले सजाय भुक्तान गरिरहेका छन् ।

त्यस्तै कर्तव्य ज्यान तथा ज्यान कसुरमा सात, जबर्जस्ती करणीमा पाँच, अपहरणमा पाँच, डाका मुद्दामा दुई, गौवध मुद्दामा एक, खोटा चलनमा एक, कीर्तेमा दुई, अभद्र व्यवहारमा एक र अप्राकृतिक मैथुनका मुद्दामा एक जना गरी ५७ जनाले कैद भुक्तान गरिरहेको जिल्ला कारागारले जनाएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको झापामा विदेशी नागरिकका लागिसमेत सरकारले रासनपानी व्यहोर्दै आएको छ । जिल्ला कारागारमा अहिले विभिन्न मुद्दामा स्वदेशी र विदेशी गरी १ हजार १ सय ९६ जना कैदबन्दीले कैद भुक्तान गरिरहेका छन् । कारागारको तथ्याङ्कअनुसार सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका कैदी छन् । एक महिला पनि जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेकी छन् ।

त्यस्तै आठ कैदी र तीन थुनुवा गरी ११ जना विदेशी नागरिक जबर्जस्ती करणी मुद्दामा झापा कारागारमा कैद भुक्तान गरिरहेका छन् । जबर्जस्ती करणीपछि झापा कारागारमा लागूऔषध मुद्दामा पक्राउ परेका धेरै छन् । नेपालमा आएर गैरकानूनी गतिविधि गर्ने विदेशी नागरिकले नेपालकै कानूनअनुसार सजायको भागिदार हुनुपर्ने कानुन छ । कैद भुक्तानपछि भने राहदानी लाग्ने मुलुकका कैदीलाई नेपालस्थित सम्बन्धित देशका राजदूतावासमार्फत आफ्नो देश फिर्ता पठाउन सकिने प्रावधान छ । -रासस